सुनसरी, इटहरी–७ — परिवर्तन एक अभियान, इटहरी–७ को आयोजनामा भव्यरुपमा “समावेशी तीज मिलन कार्यक्रम २०८२” सम्पन्न भएको छ। परिवर्तन एक अभियानको आयोजनामा इटहरीमा सम्पन्न समावेशी तीज मिलन कार्यक्रम २०८२ मा इटहरी–७  वडा भित्र रहेका विभिन्न जातजाति, सङ्घ–संस्था, विद्यालय, कार्यालय तथा भजन–कीर्तन समूहका लगभग ३०० जना महिला, आमा, दिदी–बहिनीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। सहभागी महिलाहरूले आफ्ना संस्कृति झल्कने भेष–भूषा सहित उपस्थित भई तीजको उल्लासमय गीतमा नृत्य गर्दै रमाइलो गरेका थिए।

कार्यक्रमको विशेष आकर्षणको रूपमा लोकप्रिय गायिका अन्जु गौतमले प्रस्तुत गरेका साङ्गीतिक कार्यक्रमले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनायो।

“समावेशी तीज मिलन कार्यक्रम जस्तो सांस्कृतिक तथा सामाजिक एकताको प्रतीक बनेका कार्यक्रमहरू हाम्रो समुदायलाई अझै नजिक ल्याउने माध्यम हुन्,” प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी–प्रमुख सङ्गीता चौधरीले भनिन्।उनका अनुसार, विभिन्न जातजाति, समुदाय र पृष्ठभूमिबाट आएका दिदी–बहिनीहरूको साझा सहभागिताले कार्यक्रमलाई केवल मनोरञ्जन मात्र नभई सामाजिक सद्भाव र महिला सशक्तीकरणको अभियानमा परिणत गरेको छ।

“परिवर्तन एक अभियानले सुरु गरेको यो पहल अन्य सङ्घसंस्थाका लागि पनि प्रेरणादायी छ। महिलाले आफ्नो संस्कृति जोगाउँदै आधुनिकतासँगै अघि बढ्न सक्ने उदाहरण यस्ता कार्यक्रमहरूले देखाउँछन्,” चौधरीले जोड दिइन्। उनले महिला दिदीबहिनीहरूलाई आफ्नो पहिचान झल्किने भेसभुसा, नृत्य र गीतमार्फत संस्कृति संरक्षणमा निरन्तर योगदान दिन आग्रह गर्दै यस्ता अवसरहरूलाई आपसी समझदारी र सहयोगको पुल बनाउन सबैलाई आह्वान गरिन्।

तीजको असली सुन्दरता भनेको एक आपसमा भेटघाट, हाँसो–ठट्टा र आफ्नो संस्कृतिलाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो,” परिवर्तन एक अभियानका सल्लाहकार तथा इटहरी–७ का युवा जनप्रतिनिधि दीपक घिमिरेले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भने। उनले जोड दिँदै भने— “हामी फरक–फरक सोच, पृष्ठभूमि र व्यवसायका भए पनि, आज हामी एउटै उत्साह र भावनाले यहाँ भेला भएका छौँ। यो नै हाम्रो वास्तविक शक्ति हो— एकता, समावेशिता र सांस्कृतिक गर्व।”

दीपक घिमिरेका अनुसार, यस्ता समावेशी तीज मिलन कार्यक्रमहरूले सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने मात्र होइन, भावी पुस्ताका लागि एउटा प्रेरणादायी उदाहरण पनि स्थापित गर्छन्। “म परिवर्तन एक अभियानलाई बधाई दिन चाहन्छु— जसले यति सुन्दर कार्यक्रममार्फत सबैलाई एउटै परिवारको सदस्यझैँ जोड्ने काम गरेको छ,”

“तीज केवल नाचगान र रमाइलोको पर्व मात्र होइन, यो हाम्रो सांस्कृतिक पहिचान, आपसी प्रेम र एकताको प्रतीक हो,” परिवर्तन एक अभियानका अध्यक्ष तेज प्रसाद घिमिरे (निश्लेचल)ले भने। उनका अनुसार, समावेशी तीज मिलन कार्यक्रमले फरक–फरक समुदाय, जात, धर्म र पृष्ठभूमिबाट आएका दिदीबहिनीहरूलाई एउटै मञ्चमा ल्याएर सामाजिक सद्भाव र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुराएको छ।”आज यहाँको माहौल हेर्दा लाग्छ— हामीले विविधतालाई स्विकारेर मात्रै होइन, गर्वका साथ प्रस्तुत गरेर समाजलाई अघि बढाउन सक्छौँ,” उनले भावुक हुँदै भने। परिवर्तन एक अभियानको तर्फबाट सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन र अझ व्यापक बनाउन प्रतिबद्धता व्यक्त गरे। उनले अन्त्यमा भने। कार्यक्रमको समापनमा आयोजक संस्थाले सबैलाई धन्यवाद दिँदै “हाम्रो संस्कृति हाम्रो गर्व” भन्ने सन्देशसँगै आगामी वर्ष अझ भव्य रूपमा कार्यक्रम गर्ने प्रतिबद्धता जनायो।

कार्यक्रम २०८२ साउन २४ गते शनिवार बिहान ११:०० बजेदेखि सेक्रेड  हार्ट इङ्गलिस स्कुल, इटहरी–७, सुनसरीमा आयोजना गरिएको थियो।


Your Views
Related News