परिवर्तन एक अभियानको चौथो वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न – Pariwartan
⚖ सामाजिक सेवा • सकारात्मक सोच, सामाजिक परिवर्तनको आधार
📞 +977-9808201348 | [email protected]

परिवर्तन एक अभियानको चौथो वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न

June 19, 2026 admin 3194 Views

इटहरी, सुनसरी । सामाजिक रूपान्तरण, मानव सेवा तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय परिवर्तन एक अभियान ले आफ्नो चौथो वार्षिकोत्सव विविध सामाजिक तथा सामुदायिक कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ।

वार्षिकोत्सवको अवसरमा इटहरी–७ बालग्राम क्षेत्रका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक बुबाआमाहरूलाई दोसल्ला ओढाएर तथा फलफूल वितरण गरी सम्मान गरिएको थियो। सम्मानित हुने ज्येष्ठ नागरिकहरूमा कृपासुर खड्का, हस्त बहादुर कार्की, देवी खड्का, विष्णु प्रसाद कोइराला, सावित्रा खड्का, सूर्य खड्का, धनमाया सुबेदी, मनमाया कोइराला, रवि कुमारी पोखरेल, धनमाया खड्का तथा भिमबहादुर भुजेल रहनुभएको थियो।

सोही अवसरमा इटहरी–७ सुकल्प टोलस्थित परिवर्तन एक अभियानको कार्यालयको औपचारिक उद्घाटन समेत गरिएको थियो। केक काटेर उद्घाटन गरिएको कार्यक्रममा संस्थाका सदस्यहरूले संस्थाको विगत, वर्तमान र भावी योजनाबारे अनुभव आदानप्रदान गरेका थिए।

कार्यक्रममा संस्थाको दीर्घकालीन आर्थिक सुदृढीकरणका लागि अक्षयकोष स्थापना अभियान समेत शुभारम्भ गरिएको छ। अक्षयकोष स्थापनाका लागि विष्णु प्रसाद कोइराला, भिमबहादुर चौहान, दिपक घिमिरे, निश्चल घिमिरे, भूपजित खड्का, नेत्र प्रसाद गुरागाईं तथा बलराम पण्डितले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। संस्थाले सहयोगदाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार समिति संयोजक नेत्र प्रसाद गुरागाईं तथा अतिथि सल्लाहकार समिति सदस्य दिपक घिमिरे रहनुभएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष, सचिव, सहसचिव, कार्यसमिति सदस्य तथा अन्य सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेत्र प्रसाद गुरागाईंले समाजमा सकारात्मक परिवर्तन ल्याउन संस्थाले निरन्तर गरिरहेको सामाजिक अभियानको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पनि समुदायका सबै वर्गलाई समेटेर प्रभावकारी सामाजिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी अतिथि दिपक घिमिरेले सामाजिक सेवाका गतिविधिहरूलाई आधुनिक प्रविधिसँग जोड्दै संस्थाले समयानुकूल उदाहरणीय कार्य गरेको बताउनुभयो। उहाँले प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष निश्चल घिमिरे ले संस्थाको चार वर्षे यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगदाताप्रति आभार व्यक्त गर्दै संस्थालाई अझ पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले हालै संस्थाले “डिजिटल नेपाल” को अवधारणालाई आत्मसात गर्दै आफ्नो सम्पूर्ण सदस्यता तथा प्रशासनिक प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गरेको जानकारी दिनुभयो। अब सदस्यता आवेदन, स्वीकृति, डिजिटल सदस्यता कार्ड, क्यूआर कोडमार्फत सदस्य प्रमाणीकरण, सदस्य विवरण व्यवस्थापन, सूचना तथा कार्यक्रम प्रकाशन, अनलाइन दस्तावेज डाउनलोड, सदस्य नवीकरण, भुक्तानी अभिलेख, सहयोग तथा गुनासो व्यवस्थापनलगायतका सेवाहरू डिजिटल प्रणालीमार्फत सञ्चालन हुने उहाँले बताउनुभयो।

संस्थाले विकास गरेको वेब–आधारित सदस्यता व्यवस्थापन प्रणाली तथा मोबाइल एप मार्फत सदस्यहरूले घरमै बसेर सदस्यता आवेदन दिन, आफ्नो विवरण अद्यावधिक गर्न, डिजिटल परिचयपत्र प्राप्त गर्न, सूचना तथा कार्यक्रमको जानकारी लिन र संस्थाका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ। यसले संस्थाको सेवा प्रवाहलाई थप सहज, छिटो, पारदर्शी तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सदस्यता व्यवस्थापन प्रणालीका निर्माता तथा सुलभ होस्ट प्रा.लि.का सञ्चालक सुबास घिमिरे ले उक्त प्रणालीलाई समयानुकूल रूपमा निरन्तर परिमार्जन तथा स्तरोन्नति गर्न सकिने बताउनुभयो। आवश्यकताअनुसार नयाँ प्रविधि, सेवा तथा सुविधाहरू थप गर्दै संस्थाको डिजिटल व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो।

परिवर्तन एक अभियानले विगत चार वर्षदेखि इटहरी–७ का विभिन्न स्थानहरूमा ज्येष्ठ नागरिक सम्मान, वृक्षारोपण, न्यानो कपडा वितरण, धार्मिक तथा सामाजिक कार्यक्रम, स्वास्थ्य तथा जनचेतनामूलक अभियान, महिला सशक्तीकरण, सामुदायिक सहयोग तथा मानव सेवासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। संस्थाले स्थानीय समुदायसँग सहकार्य गर्दै सामाजिक रूपान्तरणका अभियानहरूलाई निरन्तरता दिँदै आएको छ।

ज्येष्ठ नागरिक सम्मान, कार्यालय उद्घाटन, अक्षयकोष स्थापना तथा संस्थाको डिजिटल रूपान्तरण जस्ता महत्वपूर्ण कार्यक्रमहरूका साथ सम्पन्न भएको चौथो वार्षिकोत्सवले संस्थाको सामाजिक अभियानलाई थप सशक्त र प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन्। आगामी दिनमा पनि सामाजिक सेवा, प्रविधिमैत्री व्यवस्थापन तथा समुदायको समग्र विकासका लागि संस्थाले आफ्नो अभियानलाई अझ व्यापक बनाउने जनाएको छ।

← Homepage